डोटी- संघीय सरकार र प्रदेश सरकारसँग पनि जनताले प्रश्न सोधेर जबाफदेहिता खोज्नु पर्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताएका छन् ।
जोरायल गाउँपालिकाको आर्थिक वर्ष ०७९/०८० को सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा ओझाले जनताको आवश्यकता एकातिर हुने तर संघ र प्रदेश सरकारले आफ्ना चाहनाका लागि योजना विकास निर्माणका योजना बनाउने गरेको बताए ।
सहभागी सोपान साउँदले बुडर—जोरायल सडक निर्माणको म्याद सकिँदा समेत काम सुरु नभएको गुनासो गरेपछि अध्यक्ष ओझाले भने ‘सडक हाम्रो क्षेत्रमा बन्दैछ तर ठेक्का प्रदेश सरकारको हो, हामीसँग कुनै प्रकारको सहकार्यरसमन्वय छैन ।’
निर्माण कम्पनीलाई र प्रदेश सरकारलाई पटक पटक आग्रह गर्दा समेत न सरकारले सुनेको न ठेकेदारले मानेको बताए । ‘यो सडक हाम्रो क्षेत्राधिकारभित्र छैन तर पनि हामीले दबाब दिएका छौँ’ अध्यक्ष ओझाले भने ‘अव नागरिकस्तरबाट प्रदेश र संघीय सरकारलाई प्रश्न सोधौँ, जबाफदेहिता खोजौँ ।’
अध्यक्ष ओझाले सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रश्न गर्ने सहभागीहरूलाई धन्यवाद दिँदै गाउँपालिकाका कर्मचारीले सेवा प्रवाहका सन्दर्भमा कुनै दुःख दिएमा सिधै आफूसँग सम्पर्क गर्न आग्रह गरे ।
उनले भने ‘हाम्रो काम जनतालाई सेवा गर्ने हो, हामी सधैँ तयार छौँ ।’ सार्वजनिक सुनुवाइमा उठेका विषयलाई सुधार गरेर लैजाने प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले बताए ।
भट्टले भने ‘जनता÷सेवाग्राहीले सिधै प्रश्न गरेर हामीलाई सुझाव पनि दिउन् हामीले गरेको काम जानकारी पनि होस भन्ने हाम्रो उद्देश्य हो, त्यसैले सार्वजनिक सुनुवाइमा उठेका विषय गम्भीरताका साथ कार्यान्वयन गर्छौ ।’















