धनगढी– ईन्टरनेशनल अलर्ट नेपालले पत्रकार सुरक्षा परियोजनाबारे धनगढीमा सझाव संकलन गरेको छ । धनगढीमा आज (बुधवार) नेपाल पत्रकार महासंघ कैलाली शाखा अन्तरर्गत फ्रि मिडिया नेटवर्कको समन्वयमा ईन्टरनेशनल अलर्ट नेपालले कैलालीमा कार्यरत पत्रकारहरुको सुरक्षाका विषयमा सुझाव संकलन गरेको हो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले विगत भन्दा पत्रकारितामा विश्वसनीयता गुम्दै गएप्रति चिन्ता व्यक्त गरे । पत्रकारिता जगत नै नभए समाज रुपान्तरणमा पनि समस्या हुने भन्दै सहभागीहरुले यसलाई विश्वसनीय र मर्यादित बनाउन आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा बोल्दै कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले पत्रकारिता राज्यकै चौथो अंग भएकाले पत्रकारको सुरक्षामा राज्यको महत्वपूर्ण जिम्मेवारी रहेको बताए । पत्रकारले सु–सुचित गर्नुका साथै समाजमा ज्ञान पनि दिइरहेको उनले बताए ।
नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशीले ईन्टरनेशनल अलर्ट नेपालले कैलाली लगायत देशका १२ जिल्लाहरुमा १० वर्षदेखि पत्रकारको सुरक्षा सम्बन्धी कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिए । केही वर्ष कोरोना कहरले गर्दा खासै केही गतिविधिहरु गर्न नसकिएको उनले बताए ।
कार्यक्रममा ईन्टरनेशनल अलर्ट नेपालका कार्यक्रमका म्यानेजर अशीम पाण्डेले कार्यक्रमको सहजीकरण गरेका थिए ।













