कैलाली- कैलालीको लम्कीचुहा नगरपालिकामा डोजर चलेको छ। नगरपालिका क्षेत्रका सार्वजनिक जग्गा तथा नदीनालाहरूमा अतिक्रमण बढेपछि मेयर सुशीला शाहीले डोजर लगाएर अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन आदेश दिएकी हुन् । नाला अतिक्रमणका कारण लम्की क्षेत्र बर्सेनि डुबानमा पर्दै आएको थियो।
केही दिनअघि मात्र नगरपालिकाले अतिक्रमित क्षेत्रमा रेखाङ्कन गरी अतिक्रमण हटाउन सातदिने सूचना समेत सार्वजनिक गरिएको थियो। नगरपालिकाले १ नम्बर वडा लम्की बजारको पायनियर्स स्कुल नजिकको नालाबाट अतिक्रमित भएको ठाउँको रेखाङ्कन कार्य सुरु गरेको थियो । आजबाटै लम्की क्षेत्रमा डोजर चलाएर अवैध संरचना भत्काउन थालिएको हो।
आज लम्कीचुहा वडा नम्बर १ पाइनिर्यस स्कुलको उत्तर पट्टी गेटनजिकबाट डोजर लगाएर उक्त संरचनाहरू हटाउने कार्य सुरु गरिएको छ।आफूहरू प्रक्रियाका साथ अगाडी बढी रहेका भन्दै संरचना हटाउने काम कोही कसैले नरोक्न र सबैले साथ दिन नगर प्रमुख शाहीले नगर बासीमा आग्रह गरेकी छिन्।
आफूले बनाएका संरचना हटाउन लाग्दा केही व्यक्तिहरूले असन्तुष्टि जनाइरहेका बेला नगर प्रमुख शाहीले भने उक्त कार्य अब कुनै हालतमा नरोकिने बताइन।यसअघि लम्कीचुहा नगरपालिकाको भूमि व्यवस्थापन आयोग, लम्कीचुहाका अमिन र नापी कार्यालय टीकापुरको संयुक्त टोलीले जनप्रतिनिधि र स्थानीयको रोहोवरमा रेखाङ्कन गरेको थियो ।
उक्त रेखाङ्कन गरिएका संरचना आज देखी हटाउन सुरु गरिएका हुन् । घरजग्गा सम्बन्धित केही व्यक्तिहरूले असन्तुष्टि जनाए पनि अतिक्रमित गरी बनाइएका संरचना हटाउने उक्त कार्यको नगर बासीले भने प्रशंसा गरेका छन् ।















