धनगढी- सुदूरपश्चिमका केही स्थानमा आज गौराको विसर्जन गरिँदै छ । भदौ ४ गते विरुडा पञ्चमीदेखि सुरु भएको गौरा पर्व आज शुक्रबार विधिवत् रुपमा विसर्जन गर्न लागिएको हो ।
गौरा भित्र्याएपछि तीन, पाँच या सात दिन राख्नुपर्ने मान्यता रहिआएको छ । घरमा भित्र्याइएका गौरा आज विसर्जन ९सेलाएपछि० गरेपछि मन्दिर सार्वजनिक स्थलमा भित्र्याएका गौरा भने धेरै दिनसम्म, फाग, धमारी, देउडा खेलेर मनाउने परम्परा छ ।
गौरा विसर्जन गर्न शुभ बार समेत हेर्ने गरिन्छ । शुक्रबार, बुधबार, सोमबार शुभ मानिन्छ । छोरी माइतीघरबाट पठाउँदा शुभ समय हेरेर पठाउने गरिन्छ । सोहीअनुसार आज शुक्रबार शुभ परेकाले गौराको बिदाइ गर्न लागेको अछाम ठिंगालगाउँकी पार्वती जोशीले बताए ।
अछाममा साँफेबगर नगरपालिका –१ कालिमाटी ठिंगालगाउँमा मात्र परापूर्व कालदेखि गौरा ल्याउने पूजाआजा गर्ने चलन छ । धनगढीको धेरै ठाउँमा आज गौरा विसर्जन गर्न लागिएको बताइएको छ ।
आज पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा निवास धनगढीमा पनि गौरा विसर्जन गरिएको छ । देउवापत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा। आरजु राणा देउवा भदौ १ गते धनगढीस्थित निवासमा गौरा मनाउन आएकी छन् ।
ब्रतालु महिलाले गौरापूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्छन् । पुरुषहरुले ठाडोखेल, ढुस्को धमारीलगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्दै नाचगान, भजनकीर्तन पञ्चेबाजा बजाएर गौराको बिदाइ गर्ने गर्छन् ।
बिदाइमा छोरी पराइघर जाँदा जसरी माइती पक्ष रुन्छन्, बिदाइका गीत, मागल गाउँछन् । महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि गौराको व्रत बसी पूजाआजा गर्ने मान्यता छ । गौरापर्वको सुदूरपश्चिम प्रदेश सरकारले ७ र ८ गते गरी दुई दिन बिदा दिएको छ ।















