धनगढी- बिचौलियाको कब्जामा रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित दक्षिणकाली हाट बजारमा उपमहानगरपालिकाले डोजर चलाएको छ ।
सम्झौता अनुसार हाट बजार सञ्चालन नगरेको र समयमा बुझाउनुपर्ने राजश्व समेत बुझाउन नसकेपछि हाट बजारमा उपमहानगरपालिकाले शुक्रबार डोजर चलाएको हो ।
धनगढी उपमहानगरपालिकाले २०६७ चैत्र १४ गते सार्वजनिक निजी साझेदारी (पीपीपी) अन्तर्गत धनगढी उपमहानगरपालिका–२ का ओमराज पाठकलाई १५ वर्षका लागि उक्त १ बिघा जग्गा दिएको थियो ।
तर दोस्रो पक्ष मानिएका पाठकले सम्झौता अनुसार पशु वधशाला निर्माणसहित व्यवस्थित तरकारी, फलफूल तथा माछामासु बजार बनाउन सकेका थिएनन् ।
२०७९ पुस १८ गतेदेखि लागु हुने गरी उपमहानगरपालिकाले दोस्रो पक्ष मानिएका पाठकलाई २०८० असार १७ गतेसम्म संरचना हटाउन समयावधि दिएको थियो । तर संरचना नहटाएपछि उपमहानगरले शुक्रबार डोजर चलाएको हो ।
कैलाली उद्योग वाणिज्य संघ र वडा नं. ४ का जनप्रतिनिधिको रोहबारमा संरचना खाली गराइएको धनगढी उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख योगेन्द्र चन्दले जानकारी दिए ।
तर केही तरकारी पसललाई भने उनीहरुको संवेदनशीलतालाई हेरेर केही समय सार्नको लागि समय दिएको बताए । उपमहानगरपालिकाले अब त्यहाँ सपिङ कम्पलेक्स बनाउने भएको छ । जसको डीपीआर समेत भइसकेको जनाइएको छ ।













