दार्चुला- दार्चुलामा ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ३ लटिनाथ गोकुलेश्वर कच्ची भित्री सडक खण्डको मटेलिधार क्षेत्रमा बुधवार बिहान से २ च १४८१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी कार्यालय दार्चुलाका अनुसार मार्मा गाउँपालिका वडा नम्बर ३ लटिनाथ बस्ने वर्ष २१ का सुनिल विष्टले चलाएको ट्र्याक्टर दुर्घटनामा परेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
मार्माको बिटुलेबाट सिमेन्ट लिएर लटिनाथतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको उनले बताए । ट्र्याक्टर सडक बाट एक सय मिटर तल परेको बताइएको छ । दुर्घटनाबाट मानवीय क्षति हुन बाट जोगिएको छ ।
दुर्घटना हुने वितिक्कै दुबैजनाले हाम फालेपछि ज्यान जोगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सहचालक कैलालीको घोडाघोडी नगरपालिका वडा १० पहलमानपुर बस्ने वर्ष ३४ का रामलखन चौधरीसमेत दुर्घटनामा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुर्घटनामा परेको ट्र्याक्टरमा पुर्णरुपमा क्षति पुगेको छ । दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।















