धनगढी- कैलालीका राजनीतिकर्मी गणेश ढकालको कृषिप्रति मोह बढेको छ । लम्कीचुहा नगरपालिका–१ निवासी ढकालले राजनीतिसँगै कृषि पेसामा सक्रियता बढाउदै आएका छन् । उनले लम्कीमै ड्र्यागन फ्रुट खेती गरिरहेका छन् ।
आफ्नै पाँच कट्ठा जमिनमा रोपेको ड्र्यागन अहिले लटरम्म फलेको छ । “अहिलेसम्म आठौँ लट ड्र्यागन टिपेर बिक्री गरिसकेँ,” उनले भने, “राजनीतिकर्मी भए पनि म भाषण गर्दैन, काम गर्छु ।” ढकाल नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) एवं सोही पार्टीको उत्पादन विभागका केन्द्रीय सदस्य हुन् । मुलुकमा समाजवाद ल्याउनका लागि अबको क्रान्ति उत्पादन हुनुपर्ने आफ्नो पार्टीको जोडले उहाँलाई ड्र्यागन फ्रुटको काँडा र हिलोमाटोसँग खेल्ने बनायो ।
अहिलेसम्म साढे तीन क्विन्टल ड्र्यागन फ्रुट बिक्री गरिसकेको उनले बताए । अर्गानिक तरिकाबाट खेती गरी उत्पादित ड्र्यागन यो वर्ष प्रतिकेजी ५५० रुपियाँमा बिक्री भइरहेको छ । सुरुमा प्रतिकेजी ८०० रुपियाँमा बिक्री भएको थियो ।
ड्र्यागन फ्रुट बिक्री गर्न कुनै समस्या नरहेको जनाउँदै उनले माग धान्न नसकेको बताए । “मैले धनगढी, महेन्द्रनगर, अछाम र काठमाडौँ सिधै उपभोक्तालाई ड्र्यागन फ्रुट बिक्री गरिरहेको छु,” ढकालले भने, “माग अत्यधिक छ तर पु¥याउन सकिरहेको छैन ।”
ड्र्यागन फ्रुटको खेतीलाई करिब चाररपाँच सय मान्छेले अवलोकन गरिसकेका छन् । पाहुना आउँदा स्वागत सम्मानमा मात्रै ६४ केजी ड्र्यागन फ्रुट खर्चेको ढकालले सुनाए । ड्र्यागन खेतीलाई एग्रो टुरिजमका रूपमा विकास गर्नमा उनले जोड दिए । यसै वर्ष लम्कीमै १० कट्ठा जमिनमा ड्र्यागन खेती विस्तार गर्ने तयारीमा हुनुहुन्छ ।
यसै गरी निकट भविष्यमा ग्रिन हाउस बनाउने पनि योजना रहेको छ । “राजनीतिक आस्था र विचारधाराका हिसाबले म कुनै पार्टीमा आबद्ध रहे पनि उत्पादनलाई नै प्रमुख मानेको छु,” ढकालले अगाडि थपे, “गरे, स्वदेशमा पनि सम्भव छ है भन्ने संस्कार युवा पुस्तालाई दिनका लागि पनि उत्पादनमा मेरो जोड छ ।”
उनले उत्पादनलाई जोड दिँदै २०७८ कात्तिकमा ८०० ड्र्यागनका बोट लगाए । छ÷सात लाख रुपियाँ लगानीमा गरिएको खेतीबाट गत वर्षदेखि नै लाभ लिइरहेका छन् । ढकालले रोपेको ड्र्यागन १० महिनामा फलेको थियो ।
विषादीरहित बनाउने उद्देश्यका साथ कम्पोस्ट, गड्यौला र आफूले नै उत्पादन गरेको झोल मल ड्र्यागन खेतीमा प्रयोग गरिरहेको ढकालले जानकारी दिए । उनले ड्र्यागनका बिरुवासमेत उत्पादन गरेर बिक्री गरिरहेको उल्लेख गरे । गोरखापत्रबाट















