धनगढी- कैलालीको पञ्चोदय माविमा कक्षा १० मा अध्ययनरत सुरशेन जोशी बुधबारदेखि विद्यालय गएका छैनन्। पढाउने शिक्षकहरू आन्दोलनका लागि संघीय राजधानीतिर लागेपछि उनको विद्यालय बन्द छ। धनगढी उपमहानगरपालिका–३ का जोशी पञ्चोदय माविमा अंग्रेजी माध्यमबाट कक्षा १० मा अध्ययनरत छन्।
छोराको पढाइप्रति बुबा सीपी जोशी चिन्तित छन्। भन्छन्, ‘छोराको यसवर्ष एसईई हो, अब पढाइ बन्द भएकाले चिन्ता लागेको छ। तर, शिक्षकहरूका केही मागहरू जायज छन्, सरकारले विधेयक सच्चाउनुपर्छ।’ उनले मावि तहसम्मको शिक्षा स्थानीय तह र स्वास्थ्यको अधिकार प्रदेश सरकारको जिम्मा लगाएकाले शिक्षा र स्वास्थ्यमा समस्या उत्पन्न भएको आरोप लगाए।
‘नयाँ विधेयकमा शिक्षकहरूको सबै जिम्मा स्थानीय तहलाई दिने कुरा उल्लेख छ, यसले राजनीतिक पूर्वाग्रहका कारण शिक्षा क्षेत्र झन तहसनहस हुने मलाई लागेको छ’, उनले भने।















