बझाङ- बझाङमा आफूनिकट राजनीतिक आस्थाको कब्जामा विद्यालय राख्ने नियतले आपराधिक घटनासमेत हुने गरेका छन् । २०७७ माघ १३ गते छबिसपाथीभेरा गाउँपालिकामा रहेको बान्नीचौर माध्यमिक विद्यालयमा व्यवस्थापन समिति चयनका क्रममा भएको विवादमा एमाले समर्थक ज्ञानबहादुर कठायत र प्रकाश ऐडीले खुँडा प्रहार गर्दा कांग्रेस समर्थक स्थानीय अमृत सिंहको घटनास्थलमै ज्यान गएको थियो ।
यतिमात्रै होइन, यहाँका विद्यालयमा तालाबन्दी, शिक्षकलाई मोसो दल्ने, कुटपिट गर्ने र पठनपाठन हुन नदिने घटना दिनहुँ हुने गरेका छन् । विद्यालयमा हुने गरेको फोहोरी राजनीतिकै कारण यहाँको शैक्षिक गुणस्तर पनि दिनदिनै गिर्दो छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकअनुसार बझाङका ४ सय ७४ विद्यालयमा ७१ हजार ६ सय २६ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा हुने गरेको राजनीतिका कारण शैक्षिक गुणस्तर दिन प्रतिदिन गिर्दै गइरहेको प्रति जानकारहरूले चिन्ता व्यक्त गर्ने गरेका छन् ।
एसईईकै ग्रेड सिट हेर्दा पनि जिल्लाको शैक्षिक गुणस्तर प्रत्येक वर्ष बढ्नुको साटो घट्दै गइरहेको छ । विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक तथा कर्मचारी भर्ना, प्रअको नियुक्ति र निर्माणका काममा राजनीतिक दाउपेच चल्दा कतिपय ठाउँमा आपराधिक घटनासमेत हुने गरेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुरेन्द्र कठायतले बताए । ‘यहाँ राजनीतिक खिचातानीको सिकार नभएको कुनै पनि विद्यालय छैन,’ उनले भने, ‘विद्यालयको गुणस्तर सुधार्नका लागि भन्दा पनि आफ्नो दलको कब्जामा विद्यालय कसरी राख्न सकिन्छ भन्ने प्रतिस्पर्धा हुँदा शैक्षिक गुणस्तर ध्वस्त भएको छ ।’













