धनगढी- थारु समुदायका महिला माछा मार्नमा व्यस्त भएका छन् । आज विहान पानी परेर खेत, खोलामा पानी बढेपछि माछा मार्नमा उनीहरुको व्यस्तता बढेको हो ।
माछाका पारखी यो समुदायका मानिस माछा, घोंघी, गंगटोका परिकार खान रुचाउने गर्छन् । पानी परिरहेको बेला वा पानी परेपछि उनीहरु माछा मार्ने सामग्री टापी, जाल, हेल्का लिएर खोलातिर जाने गर्दछन् ।
मनसुन सकिनेबेला पानी पर्दा खेतको आलीले छेकिएका माछाहरु भाग्ने गरेकाले यो बेला धेरै माछा मार्न सक्ने सम्भावना रहने धनगढी उपमहानगरपालिका –८ की स्थानीय विष्णुदेवी चौधरीले बताए ।
उनका अनुसार बर्खा लाग्नेबेला पानी पर्दा माछाहरु खेततिर आउने गर्छन् । बर्खा सकिनेबेला पानी पर्दा खेतमा भएका माछाहरु खोलानालातिर भाग्ने गर्दछन् । त्यहीबेला बढी माछा जालमा पर्नेगरेको उनको बुझाइ छ ।













