बझाङ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपछिको राहत, उद्धार तथा पुनर्निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बझाङ सदरमुकाम चैनपुरलाई केन्द्रविन्दु बनाई मङ्गलबार गएको भूकम्पले बझाङलगायतका जिल्लामा क्षति भएको थियो । शुक्रबार चैनपुर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले भूकम्पले गरेको क्षति निरीक्षणपछि सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भूकम्पले कहाँ, कति क्षति भएको छ र त्यसको यकिन गरेर मूल्याङ्कनका आधारमा सामान्य मर्मत सम्भार गर्नुपर्ने बताउँदै प्रबलीकरण वा पुनर्निर्माण गर्नुपर्ने निर्धारण गरी कार्य अगाडि बढाइने बताए । उनले तत्कालको समस्या टार्नका लागि पाल, कम्बल, औषधी, खाद्यान्न, लुगालगायतका राहत सामग्री उपलब्ध गराइएको उल्लेख गर्दै थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “भूकम्पका कारण चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाको दीर्घकालीन पुनर्निर्माण र पुनस्र्थापनाका लागि स्थानीय तह, जिल्ला, प्रदेशबाट प्राप्त क्षतिको मूल्याङ्कनका आधारमा कार्यविधि बनाइने छ ।” उनले विगतमा गोरखा तथा सिन्धुपाल्चोकमा गरिएको पुनर्निर्माण जस्तै स्थानीय सामग्रीको प्रयोग गरी निर्माण गरिने उल्लेख गर्दै सरकारी कार्यालय, सामुदायिक भवन, स्कुल आदिमा पुगेको क्षतिलाई पनि आकलन गरी पुनर्निर्माण गरिने बताए ।
उनले भूकम्पका दृष्टिकोणले सुदूरपश्चिम उच्च जोखिममा रहेको चर्चा गर्दै भूकम्प पूर्वसङ्केत रहेकाले विपत्को सामना गर्न सक्ने क्षमता विकास, जोखिमको न्यूनीकरण र पूर्वसूचना प्रणालीको विकाससमेत गरिने बताए । प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको समृद्धिको ढोकाका रूपमा रहेको उरै भञ्ज्याङ हुँदै ताक्लाकोट सीमा नाका खोल्ने सहमति भइसकेको बताउँदै नेपालतर्फको दिपायल खुटियाँ हुँदै उरै ताक्लाकोट फास्ट ट्र्याक सडकका लागि पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनले नेपालको आर्थिक विकास तथा विद्युतीकरणका लागि पश्चिमसेती परियोजनाबारे सरकार गम्भीर रहेको बताउँदै सो परियोजनालाई कार्यान्वयन गर्न आवश्यक प्रक्रियासमेत अगाडि बढिसकेको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डका साथ उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउदलगायत बझाङ पुगेका थिए ।













