धनगढी- सरकारले केही समय अगाडि जारी गरेको नयाँ नागरिकता ऐनअनुसार कैलालीमा १ सय २१ जनाले नेपाली नागरिकता लिएका छन् ।
नयाँ ऐन लागू भएपछि गत असार १२ गतेदेखि हालसम्म कैलालीमा ७५ पुरुष,४६ महिला गरी १ सय २१ जनाले नेपाली नागरिकता लिएका हुन् ।
इलाका प्रशासन कार्यालय सुखडबाट २ जना महिला,इलाका प्रशासन कार्यालय टीकापुरबाट १८ महिला,४० पुरुष गरी ५८ जना र जिल्ला प्रशासन कार्यालय कैलालीबाट २६ महिला, ३५ पुरुष गरी ६१ जनाले नयाँ ऐन अनुसार नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनका अनुसार जन्मका आधारमा नागरिकता लिएकाका सन्तानले नेपाली नागरिकता लिएका हुन् । नयाँ कानुनअनुसार विशेष गरी जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तान र बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता वितरण सुरु गरिएको थियो ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक लागू गर्न मिल्ने गरी असार ७ गते सर्वोच्च अदालतले बाटो खुला गरेपछि नयाँ कानूनअनुसार देशभर नागरिकता वितरण सुरु भएको थियो ।













