लम्की- मुक्त कमैया बस्ती एकता शिविर पूर्व लम्कीमा दशैको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । जसको कोही छैन, त्यसको हामी छौ समाज नेपालले शुक्रवार लम्कीमा दशैको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । संस्थाका अध्यक्ष नेत्र भण्डारीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह रहेका थिए ।
प्रमुख अतिथि मुख्यमन्त्री शाहलाई मुक्त कमैया बस्ती एकता शिविरका सुदामा चौधरीले माग पत्र पेश गरेका थिए । उक्त माग पत्र बुझ्दै मुख्यमन्त्री शाहले कमैया लगतमा समावेश भएका तर अहिले सम्म पनि जग्गा प्राप्त गर्न नसकेका र बन तथा सडक छेउछाउमा अव्यवस्थित बसोबास गरी रहेका मुक्त कमैया र सुकुमबासीहरुको उचित बसोबास गर्न तिनै तहका सरकार र भूमि आयोग सँग समन्वय गरी पुनर्स्थापना गर्न प्रदेश सरकारले समन्वयकारी भूमिका निर्बाह गर्ने बताए । साथै मुक्त कमैयाका बालबालिकाको शिक्षा,स्वास्थ्यको उचित प्रबन्ध गर्ने उनले बताए ।
उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरी, उद्योग, पर्यटन तथा बन वातावरण मन्त्री रमेश धामी, काँग्रेस कैलालीका जिल्ला सभापति नारायण दत्त भट्ट, संविधान सभा सदस्य हरि श्रीपाईली, प्रदेशका मुख्यन्यायधिबक्ता ठेकेन्द्रराज जोशी, लम्किचुहा नगरपालिकाका मेयर सुशीला शाही, काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार, कमैया नेता पशुपति चौधरी, यज्ञराज चौधरी, लम्किचुहा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष र एकता शिविरका बासिन्दाका उपस्थिति रहेको थियो । उक्त कार्यक्रम मुक्त कमैया आन्दोलनमा सक्रिय अगुवा २० जनालाई सम्मान गरिएको थियो ।













