काठमाडौं- पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा बिहीबारदेखि सुनुवाइ हुँदैछ ।
रेशमको कैद माफीमिनाहा दिने निर्णय गलत रहेको दाबी गर्दै परेको रिट निवेदनमा बिहीबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको हो ।
१५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको जन्मकैदको सजाय माफीमिनाहा गरेका थिए ।
चौधरीको माफीमिनाहाको निर्णय हुँदा उनी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको जन्मकैद सदर मुद्दाको फैसलाको पूर्णपाठ समेत तयार भएको थिएन ।
माफीमिनाहापछि सार्वजनिक पूर्णपाठमा अपराधको राजनीतिकरण गरी मुद्दा फिर्ता लिने प्रयास गर्नु र उन्मुक्ति दिनु गलत हुने उल्लेख छ ।













