कैलाली- कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि मंगलबार साँझ लगिएका गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐरको क्लिनिक सञ्चालक दिनेश धामीका भाइ नविन धामीले सुई लगाए लगत्तै मृत्यु भएको थियो ।
ज्वरो आएपछि मंगलबार साँझ डिलासैनी क्लिनिकमा सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्याएका थिए । त्यहाँ पुर्याउनुअघि नै बालक ऐरको मृत्यु भइसकेको थियो ।
मृतकका परिवाजनले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै शव उठाउन नमानेको प्रहरीले जनाएको छ । बालकको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । मृतक बालकका परिवारले क्लिनिक सञ्चालकमाथि कारबाही र क्षतिपूर्तिको माग पूरा नभएसम्म शव नउठाउने अडान लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधबार र बिहीबार दिनभरी पनि सहमतिको प्रयास भए पनि सहमति जुट्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए । बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसंगै क्लिनिक सञ्चालक पक्राउ गरेर मुद्दा चलाएको छ ।















