कञ्चनपुर- कञ्चनपुरको एक विद्यालयमा ९ ओटा सिसिटिभी क्यामेरा चोरी भएका छन् । जिल्लाको दोधारा चाँदनीको भानु माध्यमिक विद्यालयमा जडान गरिएका ९ ओटा सिसिटिभी क्यामेरा चोरी भएका हुन् ।
शुक्रवार राती सात ओटा सिसिटिभी क्यामेरा चोरी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर सिजालीले बताए । विद्यालयको मूल गेट र विद्यालय परिसरमा जडान गरेका जम्मा ९ थान सिसिटिभी क्यामेरा चोरी भएको उनले बताए ।
‘भानु माविमा श्रृंखलाबद्ध चोरी हुँदै आएको । झण्डै २ महिना अघि मूल गेटमा लगाएको क्यामेरा चोरी भयो । एक हप्ता पहिले अर्को एक क्यामेरा चोरी भयो ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिजालीले भने, ‘मंसिर फेरी २९ गते राती विद्यालयको परिसरमा लगाएका सात ओटा सिसिटिभी क्यामेरा चोरी भएका छन् ।’
सिसी टिभी क्यामेरा चोर्न तीन जना संलग्न भएको फुटेजमा प्रष्ट देखिएको छ । विद्यालयले चोरी भएको प्रत्येक पटकको घटनामा प्रहरीलाई निवेदन सहित जानकारी गरेको छ । यस विषयमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।















