धनगढी- राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनको तर्फबाट सुदूरपश्चिममा कांग्रेस र माओवादीका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउने भएका छन् ।
जस अन्तर्गत कांग्रेसले आफ्ना दुई उम्मेदवार कञ्चनपुरका बलदेव बोहरा (अपांग तथा अल्पसंख्यक कलस्टर) र कैलालीका नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै महिला क्लस्टरतर्फ माओवादी केन्द्रले रेणु चन्दलाई उम्मेदवार बनाएको छ ।
विपक्षमा रहेको एमालेले अन्यतर्फ कञ्चनपुरका ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र अपांगतातर्फ कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
सुदूरपश्चिमबाट राष्ट्रिय सभामा तीन सिट रिक्त हुँदै छन् । माओवादी केन्द्रका हरिराम चौधरी (उत्सव) र महेश महरा तथा नेकपा नेकपा एमालेका ईन्दु कडरियाको पदावधि सकिन लागेको हो । रिक्त हुन लागेका सिटमा कांग्रेसले दुई र माओवादी केन्द्रले एक सिटमा भागबन्डा गरेका हुन् ।
सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ भने माघ ११ गते मतदान हुने छ । निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित हुने लगभग पक्का छ । गठबन्धनको मतभार ४४५७ छ भने विपक्षी दल एमालेका उम्मेदवारलाई प्राप्त हुनसक्ने मतभार १४८० मात्र छ ।













