धनगढी- नेकपा (माओवादी केन्द्र)की नेतृ रेनु चन्दले सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि चन्दले सोमबार सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीमा मनोनयन दर्ता गराएकी हुन ।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी चन्द सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार पनि हुन् । उनले महिलातर्फ उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत बिष्णुप्रसाद अवस्थीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि एक महिला,एक अपांगता÷अल्पसंख्यक र एक खुला गरी ३ सिटका लागि निर्वाचन हुँदैछ । सत्तारुढ गठबन्धनको भागबण्डामा माओवादी केन्द्रले एक र नेपाली कांग्रेसले २ सिट पाएको छ । जसमा माओवादी केन्द्रले महिला र नेपाली कांग्रेसले अपांगता÷अल्पसंख्यक र खुला सिट पाएको छ ।













