कञ्चनपुर- कञ्चनपुरमा बसको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१४ पलियास्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको से १ क ९९९ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने गजेन्द्र कुँवरको छोरा ३ वर्षीय कार्तिक कुँवरको बुधवार साँझ मृत्यु भएको हो।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको लागि ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाइएको छ।
उक्त बस र बस चालक भीमदत्त१८ भाँसीका ६१ वर्षीय रामबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। साथै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।













