काठमाडौँ- केही दिनयता चिसो थप बढेको छ । माघ ढल्किँदै जाँदा चिसो कम हुँदै जाने अपेक्षा गरिए पनि राजधानी काठमाडौंलगायत देशभर चिसो बढिरहेको मौसमविद्हरूले बताएका छन् । एकपल्ट वर्षा भएमा चिसो क्रमशः घट्दै जाने सर्वसाधरणको विश्वास छ । तर, माघ दोस्रो सातासम्म वर्षा हुने कुनै छाँटकाँट देखिएको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आज हिमपात हुन सक्छ भने तराईका धेरै स्थान बिहानभरि हुस्सुमय हुने सम्भावना छ । यस्तो अवस्थामा स्वास्थ्य, यातायातमा प्रभाव पर्न सक्ने छ ।
मौसम निकै चुनौतीपूर्ण भएकाले बढ्दो चिसोबाट जोगिन आवश्यक सर्तकता अपनाउन महाशाखाले सुझाव दिएको छ । अत्यधिक चिसोले ज्येष्ठ नागरिक, बिरामी र बालबालिकालाई बढी प्रभावित गर्ने गरेको छ । तराईका सडकमा सवारी साधनमा यात्रा गर्दा बाक्लो हुस्सुका कारण दुर्घटना हुने गरेको छ ।
आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । तराईंमा केही दिनयताको बाक्लो हुस्सुले नै निरन्तरता पाउने छ । माघ अन्तिम साताबाट चिसो कम हुँदै जाने आमअपेक्षा छ ।













