धनगढी- नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले संसदीय दलले गरेको निर्णय अराजक,स्वइच्छाचारी भएको ठहर गरेको छ ।
शनिबार प्रदेश समितिका उपलब्ध पदाधिकारीको उपस्थितिमा पार्टी प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गर्ने सम्बन्धि प्रदेश संसदीय दलले गरेको निर्णय अराजक,स्वईच्छाचारी भएको ठहर गरेको हो ।
साथै बैठकले दलको नेता परिवर्तन सम्बन्धि संसदीय दलले गरेको निर्णय तत्काल सच्याउन निर्देशन दिने निर्णय गरेकोे प्रदेश सचिव जनक बुढाले निशाना न्युजलाई जानकारी दिए । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता खगराज भट्टको जानकारी बिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसी दलनेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुरा प्रति पदाकिारीहरुको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
पार्टी परम्परा बिधि विपरीत केन्द्रीय कार्यालयको निर्देशनकोसमेत अवज्ञा गरी गरिएको निर्णयले पार्टीमा अराजकताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको निर्णय अबिलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय समेत भएको उनले बताए । संसदीय दलभित्रकोे समस्यालाई गम्भीरतापूर्र्वक लिइ अबिलम्ब समाधानका लागि केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधानका लागि आग्रह गर्ने निर्णय भएको उनले बताए ।
शुक्रबार सो पार्टीको बहुमत सदस्य रहेको संसदीय दलको बैठकले दलका नेता खगराज भट्टलाई हटाएर प्रदेशसभा सदस्य मानबहादुर धामीलाई चयन गरेपछी अहिले पार्टी भित्र हल्लीखल्ली भइरहेको छ ।















