काठमाण्डौ- देशभरका धेरैजसो ठाउँमा आज मौसम सफा रहेको छ । अब तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । अस्तिदेखि छिटपुट वर्षा र हिमपात भए पनि हिजो बेलुकादेखि मौसम खुलेको हो । आज काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही क्षेत्रमा मौसम सामान्य बदली रहे पनि बाँकी ठाउँमा मौसम सफा रहेको मौसमविद् गोविन्द झाले बताए ।
उनका अनुसार आज तराईका केही ठाउँमा बिहानीपख पातलो हुस्सु र कुहिरो छ । तर घाम लागेपछि बिस्तारै हट्नेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।













