धनगढी- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासन हिनता,अराजकता र गुटबन्दी पार्टीका लागि घातक हुने बताएका छन् । आइतबार कैलालीको सुखडमा नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘जति राम्रो कार्यक्रम भएपनि अनुसाशन भएन भने पार्टी ध्वस्त हुन्छ । पार्टी चल्दैन् । नीति,विधि,प्रकृयालाई पालना गरेर जानुपर्छ ।’
नेतृत्व चयनलाई लक्षित गर्दै उनले भने ‘मेरो कुनै उम्मेदवार छैन् । सबै साथी मेरा लागि उस्तै हुन् । अनुशासित हुनुपर्छ । भरसक सबैले सहमति गरेर नेतृत्व छान्नुस् ।’
फरक प्रशंगमा बोल्दै उनले भने ‘हामी यतिबेला गम्भीर चुनौतिमा छौँ । त्यो सामना गर्न नेकपा एमाले लागि रहेको छ । राष्ट्रियता,सार्वभौम स्वाधिनता कमजोर हुँदै गएको छ । सरकार निरीह भएको छ ।’ उनले भने ‘सरकारले महिलालाई अनेक पटक लछारपछार गर्छ । एउटी महिलाले न्याय माग्दा लछारपछार गर्छ । यो बलिया पक्षको सरकार हो ।’
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने ‘सरकारले तस्करी रोक्न सकेन । सुन तस्करी हरेक नाकाबाट भइरहेको छ । तस्करलाई पक्राउ गर्न सक्दैन । तस्कर आफ्नै मान्छे भएकाले कारबाही गर्न सक्दैन् । अहिले सरकारले विकासमा गति लिन नसकेको उनको आरोप छ । ‘तीब्र गतिमा विकास हुन सकेको छैन् । हामीले अघि बढाएका आयोजना अलपत्र छन् । त्यसलाई कसरी अगाडि बढाउने सोच्नुपर्छ ।’ उनले भने ‘यूवा विदेश पलायन छन् । म प्रधानमन्त्री हुदाँ पूर्वाधारको विकास त्यतिकै थियो । धेरै सडक ,पुल,विद्यालय भवन बनेका थिए । मैले २१० वटा सडक एकै ठाउँबाट उद्घाटन गरेको थिए ।’
त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव लेखराज भट्टले अहिलेको सरकारको उपलब्धी सुन्य भएको बताए । उनले भने ‘गठबन्धन सरकारले गरेका कर्तुत धेरै छन् । उपलब्धी सुन्य भएको छ । समस्या धेरै छन् । युवा विदेशी रहेका छन् ।’ अधिवेशन नयाँ चिन्तन रुपान्तरण मुल उदेश्य रहेको बताउँदै उनले उच्च लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुने विश्वास व्यक्त गरे । भोलिसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।













