धनगढी- कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा आइतबार दिउँसो नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । साँउदलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी विष्टले बताए । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।













