अछाम- चिल्तडा पुलमा जोखिमपूर्ण रूपमा पुलमा अड्किएका खच्चरलाई उद्धारमा साहसिक कार्य गरेको भन्दै दुई जना प्रहरीलाई सुदूरपश्चिम प्रहरीले पुरस्कृत गरेको छ । पुरस्कृत हुनुहुनेमा इलाका प्रहरी चौकी कालेकाँडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) रामसिंह फराल र प्रहरी हवलदार गङ्गाराम चौधरी डगौरालाई नगदसहित सम्मान गरिएको हो ।
उच्च अनुशासनमा रही अदम्य साहसका साथ कर्तव्यनिष्ठ भई उल्लेखनीय कार्य सम्पन्न गरेको भन्दै दुई जनालाई सम्मान गरेको अछाम प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।
‘हामीले पनि सम्मान गर्न भनेका थियौ, प्रदेशबाटै दुई जनालाई सम्मान गरिएको हो ।’ निरीक्षक साउँदले भने। सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले दुई जना प्रहरीलाई प्रहरी अभिलेखमा जनाइने गरी पुरस्कृत गरेको हो ।
आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाबाट दैलेखको आठबिस नगरपालिका–४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका थिए । पुलमा अड्केका खच्चरलाई फराल र चौधरी सहितको प्रहरी टोलीले जोखिमपूर्ण रूपमा डोरीको सहायताले कर्णाली नदीमा खसालेको थियो ।
करिब ८ घण्टा पुलमा फसेका खच्चरलाई कर्णाली नदीमा खसालिएका १३ मध्ये दुई खच्चर भने मरेका थिए । अन्यलाई उद्धार गरेर अहिले उपचार भइरहेको बताइएको छ ।













