काठमाडौँ । विभिन्न राजनीतिक दलमा आबद्ध भएका तथा सदस्यता लिएका ८२५ जना शिक्षकहरूले दल त्याग गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले १०० दिने प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको बताइन् ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४५ जना शिक्षकविरुद्ध उजुरी प्राप्त भएको छ । त्यस्तै विभिन्न दलमा आबद्ध ४१ जना शिक्षकलाई स्पष्टीकरण सोधिएको, ४ जना शिक्षकले सफाइ पाएको मन्त्री श्रेष्ठले बताइन् ।
२० जना शिक्षकले शिक्षण पेसाबाट राजीनामा गरेको उनको भनाइ छ । शिक्षा ऐन, २०२८ मा भएको दलको सदस्य हुन नहुने व्यवस्थालाई कार्यान्वयन गर्न लागिएको मन्त्री थापाको भनाइ छ । दलमा आबद्ध भएका शिक्षकलाई दलीय सदस्यता त्याग्न आह्वान गरेको थियो ।
स्थानीय तहलाई त्यसको विवरण माग गर्नुका साथै निर्वाचन आयोगसँग समेत तथ्यांक माग गरिएको थियो ।पत्रकार सम्मेलनमा उनले शिक्षालाई राजनीतिकरण हुन नदिने आफ्नो अठोट रहेको बताउँदै त्यो मर्ने बेलासम्म कायमै रहने बताइन् ।
उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थालनी समेत भएको बताइन् ।रातोपाटीबाट













