धनगढी- पछिल्लो समय बढ्दै गएको गर्मीका कारण तराई क्षेत्रका विद्यालयहरुले बिदा दिन थालेका छन । अत्यधिक गर्मीका कारण विद्यार्थीलाई स्वास्थ्यमा असर पर्न थालेको भन्दै विद्यालयहरुले बिदा दिन थालेका हुन ।
कैलालीको धनगढी उपमहानगरपालिकाले बुधबार देखि लागु हुने गरी ३ दिनका लागि बिदा दिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका र कैलालीको गौरीगंगा नगरपालिकाले ४ दिन बिदा दिएको सूचना जारी गरेको छ ।
त्यस्तै,कैलालीको लम्कीचुहा नगरपालिकाले आज सूचना प्रकाशित गर्दै बिहीबार देखि ११ गते सम्म गर्मी बिदा दिने जनाएको छ । सूचनामा भनिएको छ ‘तराईको अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै बिदा दिएको छ ।’ वर्षे बिदाबाट कट्टा हुने गरि नगरपालिका अन्तरगत सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गर्मी बिदा दिइएको जनाइएको छ ।














