काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी पार्टीसँग एकताको प्रयास जारी रहेको बताएका छन् । एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार राजधानीमा सम्बोधन गर्दै उनले समाजवादी मोर्चा मार्फत एकताको प्रयास जारी रहेको बताएका हुन् । साथै उनले यो महाधिवेशनले त्यसतर्फ ठोस निर्णय लिनेमा विश्वास व्यक्त गरेका छन् ।
‘निर्वाचनअघि र पछि समाजवादी मोर्चामा बसेर एउटै पार्टी बनाउने प्रयास गरिराखेका छौँ । मलाई लाग्छ यो महाधिवेशनले त्यो दिशामा ठोस निर्णय गरोस् । हामी चाहन्छौँ देशका सबै वामपन्थी शक्तिहरू एकताबद्ध भएर सुशासन सामाजिक, न्याय र समृद्धिको सम्बोधन गर्न सकियोस्’, प्रचण्डले भने ।
साथै एकीकृत समाजवादीले तयार गरेको राजनीतिक दस्ताबेजमा माओवादीलाई अस्थिर भनेकोमा उनले असन्तुष्टि पोखेका छन् । आफू अस्थिर नभएको भए देशमा संविधान सभा, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रसमेत नआउने प्रचण्डले दाबी गरे ।
‘तपाईँको दस्ताबेजमा अन्य शक्तिभन्दा माओवादी केन्द्रलाई नजिकको शक्ति भन्नुभएको छ । साथसाथै अलि बढी अस्थिर भन्नुभएको छ । हरेक पार्टीलाई अर्को पार्टीप्रति दृष्टिकोण बनाउनु आवश्यक छ । तर म यति भन्छु प्रचण्ड अलि अस्थिर नभएको भए संविधानसभा, लोकतान्त्रिक गणतन्त्र स्थापना हुने थिएन ।
प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुने थिएन । प्रचण्ड अस्थिर नभएको भए शान्ति सम्झौता पनि हुँदैनथ्यो । तपाईँले उद्धृत गरेको अस्थिर नभएको भए अहिले हामी यहाँ आइपुग्ने नै थिएनौँ’, उनले भने ।
द्वन्द्वात्मक भौतिकवादको गतिशीलता के हो रु किलो बाँधेर बस्नु मार्क्सवाद हो कि रु जमेको पोखरी जस्तो मार्क्सवाद हो कि गडगडाउँदो नदी जस्तो हुर्रिने मार्क्सवाद हो रु भन्नेतर्फ विचार गर्न उनले आग्रह गरे । रातोपाटीबाट













