धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रबाट लक्ष्मी विकले शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएकी छन् । गत जेठ २८ गते विनाविभागीय मन्त्रीमा नियुक्त भएकी विकले आइतबार मन्त्रालयको जिम्मेवारी पाएकी हुन् । विक प्रदेश सरकारमा दलित महिलाबाट मन्त्री बन्ने पहिलो व्यक्ति हुन ।
यसअघिका सुदूरपश्चिम प्रदेश सरकारमा दलित महिलामात्रै होइन् दलित समुदायका पुरुष सांसदले समेत मन्त्री बन्न पाएका थिएनन् । राज्यमन्त्रीसम्म बल्लतल्ल दलित समुदायले प्रतिनिधित्व गर्न पाएका थिए । यसपटक भने माओवादी केन्द्रले दलित महिलालाई मन्त्री बनाएको हो ।
यसअघिका सरकारमा दलित समुदायबाट राज्यमन्त्रीसम्म बनाइएको थियो । प्रदेश सरकारको पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेबाट दलित महिला सांसद अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्री बनाइएको थियो ।
त्यस्तै, माओवादी केन्द्रबाट मानबहादुर सुनारलाई भूमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री र नेपाली कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्री बनाइएको थियो ।
त्यसपछि बनेका सरकारमा दलित समुदायबाट राज्यमन्त्री समेत बनाइएको थिएन् । हाल दलित समुदायबाट सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस,एमाले र माओवादी केन्द्रबाट एक÷एक गरी तीन जना सांसद छन् ।
मुख्यमन्त्री दीर्घहादुर सोडारी नेतृत्वको सरकारमा मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रीपरिषद् रहेको छ । एमालेका सुरेन्द्रबहादुर पाल आर्थिक मामिला, बीरबहादुर थापा वन,वातावरण तथा सहकारी, हिरा सार्की आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका अक्कलबहादुर रावल जलस्रोत तथा शहरी विकास,ओमविक्रम भाट स्वास्थ्य,महिला तथा बालबालिका,लक्ष्मी विक शिक्षा,युवा तथा खेलकुद,नागरिक उन्मुक्तीका कैलाश चौधरी भौतिक पूर्वाधार तथा यातायात,टीका थापा कृषि तथा भूमिसुधार र नेकपा एकीकृत समाजवादीका माया पन्त उद्योग,वाणिज्य,पर्यटन तथा संस्कृतिमन्त्री छन् ।













