धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको बजेट अध्यादेश रोक्न बोलाइएको विशेष अधिवेशनको पहिलो बैठक दुई मिनेट बसी अनिश्चितकालको लागि स्थगित भएको छ ।
विषयवस्तु तथा विजनेशबिहीन अवस्थामा बोलाइएको विशेष अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँले विशेष अधिवेशन आव्हान गरी प्रदेश सभामा पठाएको पत्र पढेर बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन् । ‘आजको बैठकको कारबाही यहीं समाप्त भएको छ,’ प्रदेश प्रमुखको पत्र पढिसकेपछि सभामुख भण्डारीले भने, ‘अर्को सूचना प्रकाशन नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्दछु ।’
प्रति पक्षमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको रेशम समूहले प्रदेश सरकारको बजेट अध्यादेश रोक्ने उद्देश्यले विशेष अधिवेशन माग गरेका थिए । ३४ जना सांसद्ले विषयवस्तु नै नखुलाएर प्रदेश सभाको विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुख मियाँले साउन ४ गते नै विशेष अधिवेशन राख्न प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए । सोही बमोजिम मंगलबार दिउँसो २ बजे प्रदेश सभाको बैठक बसेपनि विषयवस्तु तथा विजनेश अभावमा २ मिनेटमै स्थगित भयो ।
प्रदेश सभाको विशेष अधिवेशनलाई सत्ता पक्षले पनि महत्व नदिएको देखिन्छ । प्रदेश सरकारकी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापा बाहेक कुनै पनि मन्त्री र मुख्यमन्त्री विशेष अधिवेशनको पहिलो बैठकमा सहभागी भएनन् । सो बैठकमा सत्ता पक्षका सात जना मात्रै सांसद् सहभागी भएका थिए ।













