धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाह दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले शाहलाई आइतबार प्रदेशको नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशको तेस्रो मुख्यमन्त्री भई एक वर्ष दुई महिना कार्यकाल निभाएका शाह सुदूरपश्चिम प्रदेश प्रदेशका पाँचौं मुख्यमन्त्री पनि बन्ने अवसर पाएका हुन् ।
उनले २०८० चैत्र २२ गते राजीनामा दिएपछि २०८१ बैशाख ६ गते चौथो मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले साउन १८ गते राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले सरकार गठनका लागि दलहरुलाई आव्हान गरेका थिए ।
मुख्यमन्त्री शाहले कांग्रेसका १८ र नेकपा एमालेका ११ जना गरी २९ जना सांसद्हरुको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गरेका थिए ।













