धनगढी- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज सपथ ग्रहण गर्ने भएका छन् । आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण गर्ने भएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । मुख्यमन्त्री शाहले सपथ ग्रहण गरे लगत्तै मन्त्रीपरिषद् विस्तारको तयारी समेत गरेको जनाइएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच तीन÷तीन मन्त्रालय लिने समझदारी भएपनि कुन मन्त्रालय लिने भन्ने कुरा टुंगो लाग्न बाँकी छ । नागरिक उन्मुक्ति पार्टीलाई समेत एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने मुख्यमन्त्री शाहको तयारी छ । शाह दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
१७ असारमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि अल्पमतमा परेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।













