धनगढी- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिममा भएका सम्भावनालाई उजागर गर्नुपर्ने बताएका छन् ।
कैलाली उद्योग वाणिज्य संघको बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरु मध्ये छैठौ स्थानमा रहेको बताए । उनले सबैभन्दा बढी गरिबी रहेको सुदुरपश्चिममा सम्भावना भने उच्च रहेको बताए ।
सुदूरपश्चिममा थुप्रै सम्भावनाहरु छन् ती सम्भावनाको खोजी गरेर लगानी गर्ने वातावरण बनाउनु पर्ने उनले बताए । सुदूरपश्चिममा जलस्रोत पर्यटन मात्रै नभइ यहाँको जनशक्ति निक्कै मिहिनेती रहेको र युवाहरु बिकासको सम्भाहक हुने उनको भनाइ छ । अध्यक्ष ढकालले नीतिगत अस्थिरता सबैभन्दा ठूलो समस्या रहेकोले अब सुधारको सम्भावना रहेको वताए । संसदका ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भई निजी क्षेत्र बिस्तार हुने अपेंक्षा उनले गरे ।
मुलुकको वाह्य क्षेत्र सुदृढ हुँदै गएको र सेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने धारणा व्यक्त गरे । केन्द्रसंगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको बताउँदै उनले प्रदेशमा आर्थिक गतिविधि बिस्तार गर्न प्रदेश र स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्ने बताए ।
जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्ने गरी महासंघले काम गरिरहेको अध्यक्ष ढकालले बताए । त्यसको कुनै समस्या भए समाधानका लागि महासंघले पहल गर्ने उने प्रतिवद्धता जनाए । कार्यक्रममा संघका अध्यक्ष पुष्प कुँवरले सुदुरपश्चिम प्रदेशमा आर्थिक गतिविधि चलायमान बनाउन संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको वताए । उनले सुदुरपश्चिमका उत्पादनको बजारीकरण, वित्तीय पहुँच लगायतका क्षेत्रमा सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।













