कैलाली- लोप हुन थालेको स्थानीय कला संस्कृतिलाई जगेर्ना गर्न अनौठो उपाय अपनाउन थालिएको छ । गप्का गुलरा कृषि सांस्कृतिक संरक्षण मञ्चले लम्कीचुहा नगरपालिका–८ मा रहेको बगरमा स्थानीय कला संस्कृति संरक्षणका लागि प्रत्येक शनिवार कृषि हाटबजार लगाउन थालेको हो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको लोप हुन लागेको मौलिक संस्कृतिलाई उजागर गर्नुका साथै कृषकले उत्पादन गरेको तरकारीलाई टेवा प¥याउने उदेश्यले सो हाटबजार लगाउने गरिएको मञ्चका अध्यक्ष नरेन्द्र शाहीले निशाना न्युजलाई जानकारी दिए । हाटबजारमा हप्ताको एक दिन कृषकले उत्पादन गरेको तरकारी कृषकले नै मूल्य निर्धारण गरी किनबेच हुने गरेको उनले बताए ।

साथै सुदूरपश्चिममा खेलिने देउडा र थारु संस्कृतिका सखिया नाच पनि हाटबजारमा प्रदर्शन गरिने गरेको उनको भनाइ छ । हाटबजार क्षेत्रमा कृषि सांस्कृतिक संरक्षण मञ्चले १ सय ८ पीपलका बोट रोप्ने र आमा बुबाको नामबाट कसैले पीपल रोप्न चाहे १० हजार मूल्य निर्धारण गरिने आगामी योजना रहेको उनले बताए ।
२०७४ सालबाट सुरु गरिएको हाटबजारमा कर्णाली र सुदूरपश्चिमका समुदायले आफ्नो कला,संस्कृति प्रदर्शन गर्ने गरेका र उनीहरुले आफ्नै बारीमा उत्पादन गरेका तरकारी,फलफूल,दलहन जस्ता वस्तु विक्रीका लागि यहाँ ल्याउने गरेको स्थानीय एवं पत्रकार लिलाराज शाहीले बताए । बुढापाकाको उल्लेख्य सहभागीता हुने गरेको उनले बताए ।

अछाम,कालीकोट,बाजुरा, दैलेखका मानिसहरुले देउडा खेल्ने एक आपसमा खुशी साटासाट गर्ने थलोको रुपमा यो क्षेत्र विकास हँुदै गएको उनको भनाइ छ । अरुले पनि सिको गर्दै बर्दगोरिया–२ मा आईतबार,भल्कामा शुक्रबार,लम्कीमा सोमबार र भुरुवामा मंगलबार हाटबजार लाग्ने गरेको उनले बताए ।













