धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रदेश सामयिक राजश्व संकलनसम्बन्धी अध्यादेश २०८१’ प्रदेश सभामा पेश भएको छ।
आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले उक्त अध्यादेश पेश गरेका हुन्। मन्त्री थापाले अध्यादेश जारी गर्नुपरेको परिस्थिति र कारण सहित अध्यादेश पेश गरे।
देशको उत्पन्न राजनीतिक अवस्थाका कारण सरकार परिवर्तन भएकोले प्रदेश सरकारको बजेट पारित हुन नसक्दा राजश्व सङ्कलन ठप्प भएको उनले बताए । मन्त्री थापाले कर संकलनका लागि अध्यादेश बाहेक अन्य विकल्प नभएका कारण प्रदेश सरकारले उक्त अध्यादेश ल्याएको बताए।
तत्कालिन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि गत असार १ मा प्रदेशसभामा प्रस्तुत बजेट पारित हुन नसकेपछि साउन १ गतेदेखि सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो। प्रदेशसभाको अर्को बैठक साउन २९ गते दिउँसो ३ बजे बोलाइएको छ।













