धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।
कैलालीका विभिन्न ठाउँबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु.१ लाख ७३ हजार ५१० बराबरको चिनी,प्याज, दाल, सरप, सुर्ती, बिडी, नरिवल, काजु, पानीपुरी, सुपारी, तास, गाडीको लाईट, साईकलको ट्युव, कुर्ती, साडी, सुटपिस लगायतका सामानहरु आइतबार बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै, कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु.५ लाख ६ हजार ९२ बराबरको चिनी, खाने सोडा, पेय पदार्थ, स्मेटिक सामान, साडी, धोती,मिठाई, एक थान मोटरसाईकल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













