धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले जलसतह मापक(गेज रिडर)का माग पूरा गर्न सक्दो पहल गर्ने बताएका छन् ।
विश्व मानवीय दिवसको अवसरमा गैह्र सरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश समितिले गेज रिडरका समस्याका विषयमा सोमबार धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
जलसतह मापकका तर्फबाट कैलालीका रामलोटन चौधरी र कञ्चनपुरकी हिरादेवी मिश्रले बुझाएको माग पत्र बुझ्दै मन्त्री सार्कीले आफ्नो ध्यानआर्षण भएको बताउँदै आफूले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
उनले भने ‘यहाँहरुका माग मैले प्रदेश सरकारमा छलफलमा लैजान्छु । के कति गर्न सकिन्छ । प्रविधिको सवालमा के गर्न सकिन्छ समस्या समाधानका लागि सक्दो प्रयास गर्छु ।’
जलसतह मापक(गेज रिडर)को पारश्रमिक नेपाल सरकारले निर्धारण गरेको न्युनतम पारश्रमिक सरह हुनुपर्ने,थप सुविधा र सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने,स्वास्थ्य बीमा,जीवन बीमा,आकस्मिक दुर्घटना बीमालगायतको जोखिम हस्तान्तरणको उपयुक्त अनिवार्य र दिगो व्यवस्थापन गर्नुपर्ने,पारश्रमिक,सुविधा,सुरक्षा सामग्री एवं बीमाको जोखिम हस्तान्तरण गर्ने कुरा प्रदेश सरकारको नीति,कार्यक्रम र बजेटमार्फत नै सम्बोधन गर्नुपर्ने र समयानुकुल र प्रविधिमैत्री क्षमता विकासका लागि विभिन्न गतिविधिमा समावेश गराउनु पर्ने पाँच बुदे माग राखेका छन् ।
माग पत्र बुझाउँदै जलसतह मापक(गेज रिडर) हिरादेवी मिश्रले विभिन्न कठिनाइका बावजुद आवश्यता अनुसार रात दिन नभनी जोश जाँगरका साथ जलसतह मापन गर्दै आएको बताउँदै एकदमै न्युन मात्रै दुई सय रुपैयाँ ज्यालामा काम गर्नु परेको बताइन् । आफूहरुका माग प्रति प्रदेश सरकार गम्भीर हुन उनले आग्रह गरिन् ।
कार्यक्रममा अत्तरिया स्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख ईन्जिनियर संजयकुमार शाहले जलसतह मापकको पारिश्रमिकका बारेमा आफूले सधै सक्दो पहल गरेपनि अर्थ मन्त्रालयका कारण उनीहरुको समस्या समाधान हुन नसकेको बताए । सुदूरपश्चिममा विभिन्न नदीहरुमा गरी ३१ जना जलसतह मापक(गेज रिडर) कार्यरत रहेका छन् ।
प्रदेशसभा सदस्यहरु अक्कल रावल,धर्मराज पाठक र घनश्याम चौधरीले गेज रिडरका समस्या आफूहरुले प्रदेशसभामा छलफलका लागि लैजाने प्रतिबद्धता जाहेर गरे । गैह्र सरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष देवीप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न कार्यालय,संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।













