धनगढी- मंगलबार राति परेको भारी वर्षाका कारण आएको बाढीले निर्माणाधी हुलाकी राजमार्गको कैलारी गाउँपालिका खण्ड भत्काएको छ ।
राति परेको ८०.२ मिलिमिटर वर्षाले एक्कासी आएको ठूलो बाढीले कैलारी गाउँपालिका वडा नम्बर ५, मनिकापुरमा हुलाकी राजमार्ग भत्काएको हो ।
स्थानीय कटैनी नदीमा आएको बाढी सडक माथि आएर बग्न थालेपछि सडक भत्किएकाे छ । बाढी नघटेको हुनाले सडकमा कति क्षति भयो भन्ने एकिन हुन सकेको छैन । पानीको बहाब बढेर सडकको माथिबाट बग्न थालेपनि सडकको केही छेउ भत्किएको सशस्त्र प्रहरी बिओपि खोनपुरका सहायक सशस्त्र प्रहरी नायव निरीक्षक गान्धीपराज स्याङताङले जनाए ।
बाढी र कटानका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । उनले सवारी साधन समेत जाममा रहेको, उक्त स्थानमा बिओपि खोनपुरका सप्रनाउ स्याङताङको कमाण्डमा ११ जना र इप्रका हसुलियाका प्रबनानि लोकेन्द्र बहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिएका छ ।
बाढीले पुरानो मनिकापुर बस्तीको २४ घर डुबानमा परेको प्रहरीले जनाएको छ । डुबान परेको बस्तीबट १२६ जना मध्ये १९ घरधुरीका ११६ जना आफ्नै घरको माथिल्लो तला र आफन्तको घरमा सुरक्षित साथ बसेको प्रहरीले जनाएको छ । ५ घरधुरीका १० जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
उनीहरुलाई कैलारी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । मंगलबार राति आएको बाढीबाट कैलाली जिल्लाको कैलारी गाउँपालिकामा ७२, गौरीगंगा नगरपालिकामा २२, घोडाघोडी नगरपालिका र भजनी नगरपालिमा कैयौं घरहरु डुवानमा परेको प्रहरीले जनाएको छ ।













