धनगढी- नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश परामर्श बैठक आजबाट सुरु हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा धनगढीमा बैठक हुन लागेको हो ।
बैठकमा सहभागी अध्यक्ष प्रचण्डलगायतका नेताहरु आज विहान धनगढी आउने कार्यक्रम तय भएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले जानकारी दिए ।
बैठकमा सहभागी हुन अध्यक्ष प्रचण्डसहित पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनार्र्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरु यहाँ आउन लागेको उनले जानकारी दिए ।
माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको दुई दिनसम्म चल्ने परामर्श बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने उनले बताए ।
पार्टीलाई कसरी मजबुद बनाउने भन्नेबारे नेताहरुको सुझाव संकलन गर्नका लागि बैठक आयोजना गरिएको बताउँदै सचिव बुढाले पार्टी निर्माणका लागि नेताहरुको सुझाव संकलन गर्न बैठक तय गरिएको बताए ।
माओवादीले यसअघि बाग्मती र गण्डकीमा परामर्श बैठक सम्पन्न गरिसकेको छ । बैठक आज विहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुने उनले बताए ।













