धनगढी- नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश परामर्श समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । आज बिहानबाट दोस्रो दिनको प्रदेश परामर्श बैठक धनगढीमा सुरु भएको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।
बुधबारदेखि बसेको बैठकमा केन्द्रीय पदाधिकारीसहित सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता रहेको छ ।
माओवादी केन्द्रको गत साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी बीच छलफलका गर्नका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो । सोही अनुसार सुदूरपश्चिम प्रदेशको बैठक बसेको माओवादी केन्द्रले जनाएको छ ।
पार्टीलाई बलियो बनाउने सन्दर्भमा बैठकमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबाट सुझाव सङ्कलन भइरहेको जनाइएको छ । आज बाँकी रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले सुझाव पेश गर्ने माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,उपाध्यक्षद्वय अग्निप्रसाद सापकोटा र पम्फा भुषाल, महासचिव देव गुरुङ,उपमहासचिव गिरिराजमणि पोखरेल,जनार्दन शर्मा,वर्षमान पुन,शक्ति बस्नेत, हरिबोल गजुरेललगायतका नेताहरुको समेत सहभागिता रहेको छ ।













