धनगढी- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वकाे वतर्मान सरकारले संविधानमाथि घात गर्ने आशंका पैदा भएको बताएका छन् । आज धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘कांग्रेस र एमाले गठबन्धन सरकार पछाडि जानुहुन्छ कि भन्ने लागेको छ । नेपालमा महिला,दलित जनजाति, आदिबासी, मुस्लिम सबै–सबैको अधिकार सुनिश्चित गर्न संविधानमा समावेशी,समानुपातिक भनेर हामीले धेरै ठूलो संघर्ष र मेहनत गरेर राखेका हौँ । उहाँहरुलाई यो कुरा मन परेको छैन् ।’
उनले माओवादी नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गर्दै जाँदा डरले कांग्रेस र एमालले गठबन्धन गरेको दाबी गरे । उनले भने ‘संसदीय व्यवस्थामा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने कुरा कहिँ पनि हुँदैन् ।’
उनले भने आफूले नेतृत्व गरेको अघिल्लो सरकारले सुशासन,सामाजिक न्यायका पक्षमा काम गरेको तथा भयानक आर्थिक संकटबाट देशलाई विस्तारै साधारण अवस्थातिर लगेको बताउँदै आफूले गरेका काम जनताले राम्रोसँग बुझेको बताए ।
त्यस्तै अध्यक्ष प्रचण्डले आफू सरकारबाट बाहिरिँदा उच्चमनोवलका साथ बाहिरिएको बताए । उनले भष्टाचारविरुद्धको अभियान नरोकिए आफूहरु सडक संघर्षमा आउने बताए ।













