धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले जथाभावी फोहर नफाल्न अनुरोध गर्न थालेको छ । छोटो तथा लामो दुरीका यात्रुवाहक बसमा सवार यात्रुहरुलाई पालिकाले फोहर नफाल्न अनुरोध गर्न थालेको हो ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले फोहर ब्यबस्थापनमा चासो देखाउन थाले पछि नगर क्षेत्रमा फोहर मैला नफाल्न र उचित ठाउमा फोहर ब्यबस्थापन गर्न अनुरोध गर्न थालिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरभित्र कार्यरत नगर प्रहरी र कर्मचारीले धनगढीमा फोहर नफाल्न धनगढी प्रवेश गर्ने मार्गमै माइकिङ गर्दै आएको छ ।
विशेष गरी धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगरले निर्माण गरेको स्वागत गेटबाटै धनगढी प्रवेश गर्ने छोटो तथा लामो दुरीमा सवार यात्रुहरुलाई जथाभावी फोहर नफाल्न सचेत गराउने काम भइरहेको हो।
माइकको माध्यमबाट धनगढीमा फोहर नफाल्न र जथाभावी फोहर फालेको पाइएमा कारबाही हुने भन्दै चेतावनी दिने काम पनि भइृरहेको जनाएको छ ।
यसअघि जथाभावी फोहर फाल्ने विभिन्न व्यक्ति एवं संघसंस्थालाई उपमहानगरपालिकाले जरिबाना समेत गराइसकेको छ।













