काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विश्वमा हाल संगठित र संक्रमणकालीन अपराध चुनौतिको रूपमा देखा परिरहेको बताएका छन । दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा नेपाल प्रहरीप्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आज आयोजित ‘वाकाथोन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा वताएका हुन ।
प्रहरी महानिरीक्षक कुँवरले विभिन्न देशमा हुने संगठित अपराधहरू एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै यसको लागि सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने बताए।
यस कार्यक्रमबाट विश्वव्यापी शान्ति, सुरक्षा र न्यायको लागि हाम्रो एकता र प्रतिवद्धताको समेत रहेको उनले बताए ।कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट सुरू भएको पदयात्रा दरबारमार्ग, केशरमहल, नारायणहिटी हुँदै पुन: नेपाल प्रहरी प्रधान कार्यालयमा पुगेर सम्पन्न भएो थियो ।













