धनगढी- अछाममा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन्। जिल्लाको बिनायक नगरपालिका–९ ओखरगैरा बस्ने ६८ वर्षीय नन्दराम साउँद र सोही ठाउँ बस्ने ६७ वर्षीय चिन कार्की पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
साउँदले आफ्नै घर नजिक बारीमा लुकाइछिपाई राखेको अवस्थामा एक थान एकनाले भरुवा बन्दुक, १३ वटा सिसाको गोली र बारुद र कार्कीले पनि आफ्नै घरको सुत्ने कोठामा लुकाइछिपाई राखेको एक थान एकनाले भरुवा बन्दुक,९ वटा सिसाको गोली र बारुदसहित फेला पारी शुक्रबार दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कालेकाँडाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा घर तथा बारीमा खाँनतलासी गर्दा उक्त भरुवा बन्दुक, सिसाका गोली र बारुद फेला पारी पक्राउ गरेको जनाइएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













