धनगढी- कैलालीमा नगदेबालीका रुपमा रहेको उखु खेतीको क्षेत्र विस्तार हुन सकेको छैन । उखु खेतीमा संलग्न किसानलाई बीउलगायत अन्यमा अनुदानका कार्यक्रम नहुँदा उखु खेतीको क्षेत्र विस्तार हुन नसकेको हो ।
जिल्लाका किसानले उत्पादन गरेको उखुका लागि बजार अभाव भएकोले पनि उखु खेतीतर्फ किसानको आकर्षण घट्दै गएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।
प्रदेश सरकारले जिल्लामा उखु खेतीमा संलग्न किसानका लागि अहिलेसम्म अनुदानका कार्यक्रम नल्याएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । विगतमा उखु खेती गर्दै आएका किसान अहिले आएर उखु खेती छोडेर अन्य खेती गर्दै आएका छन । ज्ञान केन्द्रका अनुसार जिल्लामा २५ वर्षअघि सात सय हेक्टर क्षेत्रफलमा विस्तार भएको उखु खेतीको क्षेत्रफल घटेर दुई सय २५ हेक्टरमा उखु खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्याम जोशीले बताए ।
ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा आब ०७८/७९ मा दुई सय २४ हेक्टरमा उखु खेती गरिएकोमा उत्पादन ८ हजार तीन सय ७ मेट्रिक टन र आब ०७९/८० मा दुई सय २४ हेक्टरमा उत्पादन नौं हजार चार सय ५० मेट्रिक टन भएको थियो । उखु खेती गर्ने किसानलाई कृषि औजार, उपकरण, बिउ लगायत अन्य अनुदानका कार्यक्रम उपलव्ध गराउन सके मात्रै उखु खेतीतर्फ किसानको आकर्षण बढ्न सक्ने सूचना अधिकारी श्याम जोशीको भनाइ छ ।
उखु खेती प्रवद्र्धन गर्नका लागि किसानलाई अनुदान रकमसँगै खेती गर्ने तौरतरिका र उन्नतजातका बीउ लगाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने घोडाघोडी नगरपालिका ४ का उखु किसान गणेश शाहीले बताए । उनले उखु खेतीमा बजारको अभाव भएकोले किसानलाई लागत अनुसार आम्दानी लिन अप्ठेरो भएपछि गाउँमा उखु खेती गर्नेको संख्या घट्दै गएको बताए। विसं. २०५४/०५५ सालमा चुहामा बाशुलिङ सुगर मिल सञ्चालनमा आएपछि जिल्लामा उखु खेती गर्ने किसानको संख्या ह्वात्तै बढेको थियो । सो मिल बन्द भएसँगै यहाँका किसानले उखु खेती गर्न क्रमश: छोड्दै गएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आब २०७९/०८० को तथ्यांक अनुसार प्रदेशभर छ हजार एक सय ९७ हेक्टर क्षेत्रफलमा उखु खेती गरिँदै आएकोमा तीन लाख ५९ हजार तीन सय २१ मेट्रिक टन उत्पादन भएको छ । प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरमा पाँच हजार ६२५ हेक्टरमा उखु खेती गरिँदै आएकोमा तीन लाख ४३ हजार १२५ मेट्रिक टन उत्पादन भएको तथ्यांकले देखाएको छ । कञ्चनपुर र कैलालीपछि बैतडीमा २६० हेक्टरमा चार हजार एक सय ९०मेट्रिक टन उत्पादन भएको थियो । कञ्चनपुरमा उखु खेती विस्तारका लागि अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएकोले उखु खेतीको क्षेत्रफल बढेको जनाइएको छ ।













