धनगढी- धनगढी उपमहानगरपालिकाले उत्कृष्ट काम गरेको भन्दै दुईजना कर्मचारीलाई जनही एक लाख नगदसहित पुरस्कृत गरेको छ ।
आज धनगढी उपमहानगरपालिकाको १० औ स्थापना दिवसको अवसरमा उनीहरुलाई उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पुरस्कृत गरेका हुन् । पुरस्कृत हुनेमा डिभिजनल ईन्जिनियर दीजराज भट्ट र वित्त व्यवस्थापक कृष्णप्रसाद जैशी रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । आर्थिक बर्ष २०८०।८१ मा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट स्थानीय सेवा पुरस्कारबाट उनीहरुलाई सम्मान गरिएको हो ।
त्यस्तै, उपमहानगरमा कार्यरत अन्य कर्मचारीलाई समेत नगद र सम्मान पत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षा ८,१० र १२ मा उत्कृष्ट अंक ल्याउने संस्थागत तथा सामुदायिक विद्यालयका छात्र/छात्रा, धनगढीस्थित छ लेन सडकमा तारजालीसहित वृक्षारोपणमा सहयोग गर्ने संघसंस्था,उत्कृष्ट विद्यालय ,शिक्षक,कर्मचारीलगायतलाई नगद सहित सम्मान गरिएको थियो ।















