धनगढी- कैलालीमा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका–१ गोप्कामा सोमबार राति पश्चिमबाट पूर्वतर्फ गइरहेको से ६ प ६२७९ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटना परि दुबै मोटरसाईकलका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कवीन्द्रसिंह बोहराले जानकारी दिए ।
मृत्यु हुनेमा से ६ प ६२७९ नम्बरको मोटरसाईकल चालक कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र बा ९५ प ९२५२ नम्बरका मोटरसाईकल चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरन्जिवी मल्ल रहेको उनले जानकारी दिए ।
दुबै जना गम्भीर घाइते भई उपचारको लागि नवजीवन अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा दुवै जनालाई सोमबार राति मृत घोषणा गरेको उनले जानकारी दिए । गएराति नै दुबै जनाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको उनको भनाइ छ । त्यस्तै, बा ९५ प ९२५२ नम्बरको मोटरसाईकलमा पछाडि सवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीय दीपक बोहरा सामान्य घाइते भएको उनले जानकारी दिए ।















