कञ्चनपुर- कञ्चनपुर निर्माण व्यवसायी संघको अध्यक्षमा पूर्व वरिष्ठ उपाध्यक्ष निरञ्जनप्रसाद भट्ट निर्वाचित भएका छन्। संघको १४ औँ अधिवेशनमा सार्वजनिक अन्तिम मत परिणाम अनुसार भट्ट १ सय ५५ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका छन्।
उनका प्रतिद्वन्द्वी निवर्तमान वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थीले १ सय ९ मत ल्याएका छन्। संघमा सचिव र सह कोषाध्यक्षबाहेक सबै पदाधिकारी भट्ट प्यानलका निर्वाचित भएका छन्।
संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बहादुर चन्द निर्वाचित भएका छन्। उनले १ सय ४९ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी अमर बहादुर बमले १ सय ४ मत ल्याएका छन्।
उपाध्यक्षमा देवबहादुर चन्द १ सय ६२ मत ल्याएर निर्वाचित भएका छन्। उनकी प्रतिद्वन्द्वी शक्ति विष्टले ८८ मत पाएका छन्। महासचिवमा योगेन्द्र ठकुराठीले अमर मल्ललाई पराजित गरेका छन्। ठकुराठीले १ सय ६३ र मल्लले ९५ मत ल्याएका छन्।
सचिवमा सूर्य बहादुर चन्द निर्वाचित भएका छन्। उनले हेम महरालाई ११ मतले पराजित गरेका छन्। चन्दले १ सय ३२ र महराले १ सय २१ मत ल्याएका छन्। कोषाध्यक्षमा १६ मतले दीपक भट्ट निर्वाचित भएका छन्। निर्वाचित भट्टले १ सय २९ र उनका प्रतिद्वन्द्वी तेज चन्दले १ सय ६ मत ल्याएका छन्।













