धनगढी । कैलालीमा थुनामुक्त गरिदिन्छु भन्दै रकम लिने तीन जना पक्राउ परेका छन् ।
शुक्रबार जिल्लाको धनगढी उपमहानगरपालिका–१ बाट लागूऔषध मुद्दामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरिदिन्छु भन्दै थुनुवाका परिवारका सदस्यहरुबाट ३९ हजार ५ सय भारु (भारतीय रुपैया) लिने व्यक्ति पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउँद, सोही स्थानका २२ वर्षीय रमेश साउँद र १९ वर्षीय हर्क साउँद पक्राउ परेका हुन् । लागूऔषध मुद्दामा प्रहरी हिरासतमा रहेका थुनुवालाई थुनामुक्त गरिदिने भन्दै तीनै जनाले रकम मागेको उनले बताए।
अहिले तीनै जनालाई नियन्त्रणमा लिएर थप सोधपुछ गर्दा अन्य रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई भएको समेत खुल्न आएको उनले बताए। पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।















