धनगढी- कैलालीको अत्तरियामा बुधबार नमस्ते गाउँपालिकाको गाउ सभा सँचालन भैरहेको थियो । सभा अध्यक्षको भुमिकामा सभा सँचालन गरिरहेका थिए डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझा । सभाको सदस्यको रुपमा सुदुरपश्चिमका १२ गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतहरु भाग लगिरहेका थिए । मंगलबार र बुधवार उनीहरुले पटक पटक गाँउ सभा सँचालन गरे, बिभिन्न प्रस्ताव पेश गरे र बहुमतका आधारमा पारित पनि गरे ।
सुदुरपश्चिमको गाउपालिकाको गाउँसभा नभएर गत बैशाखमा भएको निर्वाचनबाट स्थानीय सरकारको नेतृत्वमा आएका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई गाउँ सभा सँचालनको प्रकृया बुझाउन गरिएको नमुना अभ्यास थियो । ‘गाउँ सभा र नगर सभा प्रदेश सभा र संघीय सभा जस्तै सभा हो ।’ गाँउपालिका महासँघ सुदुरपश्चिम समितिका अध्यक्ष समेत रहेका ओझा भन्छन् ‘त्यसैले गाउँ सभा सँचालनको प्रकृया नया जनप्रतिनिधिलाई बुझाउन नमुना अभ्यास गरिएको हो ।’
गाउँपालिका महासँघले आयोजना गरेको गाउँसभा सँचालन र कानुन निर्माण प्रकृया सम्वन्धी सिकाई अभ्यास कार्यशालामा पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले गाउँसभा सँचालनको अभ्यास गरेका हुन् । कार्यशालामा कैलालीका ६, कन्चनपुरका २, डडेल्धुराका २ र डोटीका एक गरि १२ गाउपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो । गाउँपालिका महासँघले यसअघि डडेल्धुरामा बझाङका चार, बैतडीका २, बाजुराका ४ र अछामका ४ पालिकाका लागि समेत सिकाइ अभ्यास कार्यशाला सँचालन गरेको थियो ।













